काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका विभिन्न केन्द्रीय विभागमा नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ।
बैशाख २७ गते बसेको केन्द्रीय सचिवालय बैठकले शिक्षा, स्टार्टअप तथा र्यापिड एक्सन टिम (र्याट) मा नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभाग प्रमुखको जिम्मेवारी दिएको छ। शिक्षा नीति, शैक्षिक सुधार र पार्टीको वैकल्पिक शिक्षा अवधारणालाई अघि बढाउने जिम्मेवारीसहित उनलाई विभागको नेतृत्व सुम्पिएको बताइएको छ ।
त्यसैगरी, स्टार्टअप तथा उद्यमशीलता क्षेत्रलाई प्राथमिकतामा राख्दै पार्टीले डाक्टर प्रभात अधिकारी लाई स्टार्टअप विभाग प्रमुखमा मनोनयन गरेको छ।
यस्तै, र्यापिड एक्सन टिम (र्याट) को केन्द्रीय विभाग प्रमुखमा मकवानपुरका बैकुण्ठ थापालाई जिम्मेवारी दिइएको छ भने उपप्रमुखमा सशस्त्रका पूर्वडीआईजी विदुर खड्का मनोनित भएका छन्।