काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘नीति मन्थन’ अन्तर्गत शृंखलाबद्ध बहस कार्यक्रम सुरु गर्ने भएको छ। सोही कार्यक्रमअन्तर्गत आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयमा विशेष बहस आयोजना गर्न लागिएको हो ।
रास्वपाका अनुसार बहस कार्यक्रम आइतबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुनेछ। कार्यक्रममा विपद् व्यवस्थापन, पूर्वतयारी, स्थानीय तहको भूमिका तथा जलवायुजन्य जोखिमका विषयमा विस्तृत छलफल गरिने जनाइएको छ।
कार्यक्रमका मुख्य वक्ता विपद् उत्थानशीलताविज्ञ गौरव सागर दवाडी रहनेछन्। त्यसैगरी जल तथा मौसम विज्ञान विभागकी प्रमुख अर्चना श्रेष्ठ विषयविज्ञका रूपमा सहभागी हुनेछन्।
बहसमा हेलम्बु गाउँपालिका का अध्यक्ष निमा ग्याल्जेन शेर्पा, सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन महाशाखाका प्रमुख राजेश उप्रेती लगायतले पनि धारणा राख्ने कार्यक्रम रहेको छ।
रास्वपाले विपद् व्यवस्थापनलाई केवल उद्धारमा सीमित नभई दीर्घकालीन नीति, पूर्वतयारी र समुदायको उत्थानशीलतासँग जोडेर बहस अगाडि बढाउने जनाएको छ। कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले पनि सम्बोधन गर्ने कार्यसूची रहेको छ।