'गृहमन्त्रीको विषय आजको प्रस्तावित एजेन्डा नै थिएन'
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री सुधन गुरुङको विषयमा कुनै निर्णय गरेको छैन् ।
रास्वपा केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता मनिष झाले गृहमन्त्री गुरुङका विषयमा कुनै निर्णय नभएको बताएका हुन्।
'सबै निर्णय बैठकमै आउनुपर्छ भन्ने छैन । कहिलेकाहीँ प्रस्ताव, छलफल, निष्कर्ष र निर्णय गरी चार वटा खुड्किला हुन्छन्। गृहमन्त्रीको विषय आजको प्रस्तावित एजेन्डा नै थिएन । त्यस विषयमा छलफल पनि भएको छैन,' झाले भने ।
उनले तीन दिन अगाडि नै प्रस्तावित एजेन्डा पठाइसकेकाले बैठकमा छलफल नभएको जिकिर गरे ।
गृहमन्त्री गुरुङ शुद्धीकरणसम्बन्धी अपराधको अभियोगमा हाल ललितपुरको सानेपास्थित प्रहरी हिरासतमा रहेका चर्चित बिचौलिया तथा विवादास्पद व्यापारी दीपक भट्ट समूहले सेटिङमा हात पारेको एक लघु बिमा कम्पनीको पनि शेयर होल्डर रहेको तथ्य भेटिएपछि विवादमा मुछिएका छन् ।
सुजन आचार्य संस्थापक अध्यक्ष रहेको यो कम्पनीमा चार जना सञ्चालक छन् । हाल अध्यक्ष रहेकी प्रजुनी बज्राचार्य भट्टकै स्वामित्व रहेको इन्फिनिटी होल्डिङकी कर्मचारी हुन् । उनीसमेत सञ्चालक रहेको कम्पनीमा ५७ जना संस्थापक शेयर धनी छन्। भट्टसँग विवादास्पद कारोबारमा मुछिएको शंकर समूहको स्वामित्व रहेको जगदम्बा इन्टरप्राइजेजको उक्त कम्पनीमा २५ लाख रुपैयाँ बराबरको सेयर देखिन्छ । त्यति बराबरको रकम अर्थात् २५ लाख रुपैयाँको सेयर हालका गृहमन्त्री सुधन गुरुङको समेत रहेको तथ्य बाहिरिएको हो । उनले यो कुरा अघिल्लो हप्ताको सम्पत्ति विवरणमा भने उल्लेख गरेका छैनन् ।
यसअघि नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
त्यस्तै जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरिसकेको छ ।
आफूमाथि पार्टीको सम्भावित ‘एक्सन’ लाई लिएर गृहमन्त्री गुरुङ रास्वपा सभापति रवि लामिछानेलाई भेट्न उनकै निवास बुढानीलकण्ठ गएका थिए । गृहमन्त्री गुरुङलाई सभापति लामिछानेले सोमबार पनि पार्टीको बैठक बस्ने र आफ्नो कुरा बैठकमै राख्न भनेका थिए ।
तर प्रवक्ता झाका अनुसार गुरुङका विषयमा कुनै छलफल चरणमा भएको छैन ।
अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार हुँदा अनुसन्धान प्रभावित हुने भनी उनले राजीनामा दिनुपर्ने चौतर्फी माग उठ्न थालेपछि गृहमन्त्री गुरुङले आफूमाथि लागेको आरोपबारे छानबिनका लागि सघाउन तयार रहेको बताएका छन् ।