काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई निर्वाचन समीक्षापछि योजनाबद्ध रूपमा पुनर्गठन र पुनर्जागृत गर्ने बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टीलाई कमजोर र विवादित देखाउन सुनियोजित रूपमा भइरहेको प्रचारबाजीप्रति सचेत रहन कार्यकर्तालाई आग्रह गरे।
'अफवाह र नकारात्मक प्रचारबाट प्रभावित नहुनुहोस्, पार्टीलाई सुदृढ बनाउने जिम्मेवारी हामी सबैको हो,' उनको सन्देश छ।
उनका अनुसार आम निर्वाचन ०८२ मा व्यहोर्नुपरेको पराजयपछि एमाले अहिले व्यापक समीक्षाको चरणमा प्रवेश गरेको छ। वडा, पालिका र जिल्ला तहमा समीक्षा प्रक्रिया सक्रिय रूपमा सञ्चालन भइरहेको उनले जानकारी दिए।
पोखरेलले प्रदेश तहबाट समीक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रीय तहमा विस्तृत विश्लेषण गरिने बताए। “केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावलीमार्फत अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझाव संकलन गरिरहेको छ,” उनले उल्लेख गरे।
संकलित तथ्य, सुझाव र प्रतिवेदनका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समीक्षा गरी संस्थागत धारणा तय गर्ने तयारी भइरहेको उनले स्पष्ट पारे।