काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारले मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला गर्ने निर्णयप्रति कडा आपत्ति जनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले बालेन्द्र शाह नेतृत्वको सरकारको निर्णय “अत्यन्त गम्भीर” भएको टिप्पणी गरेका हुन्।
उनले इजरायल, कुबेत, बहराइन र लेबनन जस्ता तनावग्रस्त तथा युद्ध प्रभावित मुलुकमा पुनः श्रम स्वीकृति खुला गर्नु नागरिक सुरक्षामाथि खेलवाड भएको आरोप लगाए।
“युद्ध भइरहेका देशबाट युवालाई सुरक्षित फर्काउनुपर्ने बेला उल्टै त्यतै पठाउन खोज्नुको कारण के हो ?” भन्दै उनले प्रश्न उठाएका छन्।
विप्लवले वर्तमान सरकार विदेशिएका युवालाई स्वदेश फर्काउने नारासहित सत्तामा आएको स्मरण गराउँदै यस्तो निर्णयले त्यस प्रतिबद्धतामाथि प्रश्न उठाएको बताए।
उनका अनुसार नागरिक जीवनप्रति देखिएको यस्तो लापरबाही र गैरजिम्मेवारी गम्भीर विषय हो। “यस्तो निर्णय कसको सल्लाहमा भइरहेको हो ?” भन्दै उनले सरकारसँग स्पष्टिकरण माग गरेका छन्।
विप्लवले तत्काल उक्त निर्णय फिर्ता लिन आग्रह गर्दै कम्तीमा स्थायी शान्तिको सुनिश्चितता नभएसम्म ती मुलुकहरूमा नेपाली नागरिक पठाउन नहुने धारणा व्यक्त गरे।