'अबको बाटो सजिलो नहुन सक्छ-राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ'
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जाँचबुझ आयोगको प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाएका छन् ।
पोखरेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका लागि नभई निश्चित धारणा स्थापित गर्न बनेको पुष्टि भएको भन्दै फेसबुकमार्फत प्रश्न उठाएका हुन् ।
'कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ। कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ । सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ,' पोखरेलले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन् ।
निर्वाचन र जाँचबुझ आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको उनले बताएका छन् । उनले अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको भन्दै अबको बाटो सजिलो हुन नसक्ने टिप्पणी पनि गरेका छन्
'अबको बाटो सजिलो नहुन सक्छ-राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ,' उनले थप लेखेका छन् ।
उनले अब राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिएको पनि बताएका छन् ।