काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्री बन्नका लागि कुनै पनि ‘मिडिया ट्रायल’ नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।
बुधबार सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उनले सांसदहरूलाई यस्तो आग्रह गरेका हुन्।
'तपाईंहरूमध्ये कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ । तर कृपया ‘मन्त्री बनाइदिनुस्’ भनेर या मिडिया ट्रायलमा ‘म फलानो मन्त्री’ भनेर प्रचार गर्ने काम बन्द गरिदिनुहोला । पार्टीले सही निर्णय गर्छ, कसैलाई तपाईले भन्नु पर्दैन । हामीलाई तपाईहरूको विज्ञता र क्षमता थाहा छ,' लामिछानेले भने।
मन्त्री छनोटको मापदण्ड व्यक्तिको क्षमता र विज्ञता हुने भन्दै उनले कसैले पनि आफ्नो लागि भनसुन गर्नु नपर्ने बताए।
मिडियामा धेरै देखिने र नदेखिने दुवैथरी सांसदहरूको मूल्यांकन पार्टीले गरिरहेको उनको भनाइ थियो।