काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपमहासचिव योगेश भट्टराईले निर्वाचनको समयमा आफूसँग जिम्मेवारी माग्दा नपाएको भन्ने भनाइ सत्य नरहेको प्रष्टीकरण दिएका छन्।
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनका बेला आफूलाई जिम्मेवारी नदिएको आरोप लगाएपछि आज बिहान समाजिक सञ्जालमा लेख्दै पोखरेलले यस्तो प्रष्टीकरण दिएका हुन्।
पोखरेलले भट्टराईलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको दाबी गरेका छन्।
'अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ । अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको थिएँ। त्यसबेला उहाँले ताप्लेजुङ जानुपर्ने बताउनुभएको थियो। मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ। तर अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट भने म आश्चर्यचकित भएको छु,' उनले लेखेका छन् ।
दाङ आउन आग्रह गर्दा पनि भट्टराईले ताप्लेजुङ जानुपर्ने कारण देखाउँदै नआएको उनको भनाइ छ।