चितवन । प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन् ।
शनिबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै स्पष्ट जित निकालेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन्।
लामिछाने र खरेलबीचको मतान्तर ३९ हजार ८३८ रहेको छ। यस क्षेत्रमा कुल ८७ हजार ०२८ मत गणना भएको थियो।
यसै क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्दा नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मत पाएका छन्।
लामिछाने यसअघि पनि चितवन–२ बाट पटक–पटक ठूलो मतान्तरसहित विजयी हुँदै आएका छन्।
२०७९ मंसिर ४ को निर्वाचनमा उनले ४९ हजार ३०० मत ल्याएका थिए। त्यतिबेला उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठ थिए।
तर अमेरिकी नागरिकता सम्बन्धी मुद्दामा सांसद पद गुमेपछि २०८० वैशाखको उपनिर्वाचन भएको थियो। त्यस उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत ल्याउँदै झनै ठूलो मतान्तर बनाएका थिए।
यसपटकको निर्वाचनमा पनि लामिछानेले अत्यधिक मतसहित विजय दोहोर्याउँदै चितवन–२ मा आफ्नो राजनीतिक प्रभाव बलियो रहेको सन्देश दिएका छन्।