रौतहट । रौतहटमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना दुर्गाभगवती गाउँपालिका–४ मा भएको हो ।
मृत्यु हुनेमा यमुनामाई गाउँपालिका–४ निवासी २४ वर्षीय जितेन्द्र साह र उनकी २२ वर्षीया पत्नी पुनमदेवी साह रहेका छन् ।
प्रहरीका अनुसार घरबाट जिल्ला सदरमुकाम गौरतर्फ जाँदै गरेको अवस्थामा बीआर ३० यु १३७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेको र छेउमा रहेको सिसौको रुखमा ठोक्किँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक दम्पतीको शवलाई प्रादेशिक अस्पताल गौरमा राखिएको छ । शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, रौतहटमा आइतबार बिहानदेखि बाक्लो कुहिरो लागेको छ । स्थानीयवासीका अनुसार कुहिरोका कारण सडक स्पष्ट नदेखिँदा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।