सिरहा । सिरहामा बस र मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको गोलबजार नगरापलिका-३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल ठोकिँदा उक्त दुर्घटना भएको हो ।
मृत्यु हुनेमा धनगढीमाई नगरपालिका-८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु रहेका छन् ।
गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स.५प. ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु२ख १०८५ नम्बरको बस ठोकिँदा घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
दुर्घटनामा परी १७ वर्षीय धिरज मण्डल गम्भिर घाइते भएका छन् । घाइते मण्डलको विराटनगरमा उपचार भइरहेको छ । मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार थिए ।
मृतकहरुको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रदेशिक अस्पतालमा राखिएको छ ।
बस र चालक प्रहरीको नियन्त्रणमा छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।