काठमाडौं । अमेरिकामा विभिन्न प्रयोजनले बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई अमेरिकी कानुनको पूर्ण पालना गर्दै विधिसम्मत गतिविधि गर्न वासिङ्टनस्थित नेपाली राजदूतावासले कडा अपिल गरेको छ ।
बिहीबार सार्वजनिक सूचनामार्फत राजदूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय, परिवार वा आफन्त भेटघाटलगायत उद्देश्यले संयुक्त राज्य अमेरिकामा रहेका विदेशी नागरिकले त्यहाँ रहँदा अवैधानिक तवरले वा गलत सूचना तथा विवरण पेस गरी अमेरिकी सरकारले आफ्ना नागरिकका लागि उपलब्ध गराउने सहुलियत नलिन आग्रह गरेको हो ।
दूतावासले जारी गरेको विज्ञप्तिमा अमेरिकी सरकारका सम्बन्धित अधिकारीहरूबाट प्राप्त जानकारी उद्धृत गर्दै भनिएको छ, 'अमेरिकी सरकारले आफ्ना नागरिकहरूका लागि उपलब्ध गराउने सहुलियतपूर्ण स्वास्थ्योपचार, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता कुनै पनि सुविधा वा सहायतामाथि निर्भर भएको पाइएमा त्यसमा संलग्न व्यक्तिको भिसा वा ग्रिनकार्ड स्टाटसमा सोझै असर पर्ने र रद्दसमेत हुन सक्नेछ।'
विज्ञप्तिमा सन् २०२४ मा मात्रै अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिने विदेशीहरूको सूचीमा नेपाली नागरिकहरू माथिल्लो स्थानमा रहेको तथ्यका आधारमा अमेरिकाले नेपालीका लागि आप्रवासी भिसा हाललाई बन्द गरेको सम्बन्धमा सार्वजनिक सूचना जारी गरिसकेको स्मरणसमेत गराइएको छ।
राजदूतावासले विभिन्न उद्देश्यले संयुक्त राज्य अमेरिकामा रहनुभएका नेपाली नागरिकहरूलाई त्यहाँ बसोबासका क्रममा गैरकानुनी गतिविधिमा संलग्न नहुन तथा गलत सूचना वा विवरण पेस गरी सहुलियतपूर्ण स्वास्थ्योपचार, आवास, परिवार सहायता र शैक्षिक सहयोगजस्ता कुनै पनि सुविधा वा सहायतामाथि निर्भर नहुन हार्दिक अनुरोध गरेको छ।
यसैगरी, व्यापारिक तथा पर्यटकीय प्रयोजनका लागि प्रदान गरिने ‘बी–१’ र ‘बी–२’ भिसाको दुरुपयोग नगर्नसमेत दूतावासले स्पष्ट चेतावनी दिएको छ।
पछिल्ला दिनमा अमेरिकी सरकारले विभिन्न प्रयोजनका भिसामा थप कडा प्रावधानहरू समावेश गर्दै गएको सन्दर्भमा दूतावासको यो अपिललाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता देखिएको छ। दूतावासले अमेरिकी कानुन र नियमको सम्मान गर्दै जिम्मेवार आचरण अपनाउन सबै नेपाली नागरिकलाई आग्रह गरेको छ।