एजेन्सी । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले संयुक्त राज्य अमेरिकाविरुद्ध कडा चेतावनी जारी गर्दै फारसी खाडी क्षेत्रमा तनाव थप चर्किएको संकेत दिएको छ।
कोर्प्सको नौसेना कमान्डले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत चेतावनी जारी गर्दै इरानी तेल ट्याङ्कर तथा व्यापारिक जहाजमाथि फारसी खाडी वा होर्मुज जलडमरूमध्य क्षेत्रमा फेरि कुनै आक्रमण भए अमेरिकी सैन्य अड्डा र युद्धपोतहरूलाई निशाना बनाइने जनाएको हो।
यससँगै इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स एयरोस्पेस फोर्सले छुट्टै पोस्ट सार्वजनिक गर्दै आफ्ना मिसाइल र ड्रोन अमेरिकी अड्डा तथा ‘शत्रु जहाज’तर्फ लक्षित अवस्थामा रहेको दाबी गरेको छ।
'हाम्रा मिसाइल र ड्रोनहरू पहिले नै लक्ष्यमा ‘लक’ भइसकेका छन्, अब हामी आदेशको प्रतीक्षामा छौं,' पोस्टमा उल्लेख गरिएको छ।