एजेन्सी । इरानका प्रभावशाली कट्टरपन्थी सांसद महमुद नबाभियानले मध्यपूर्वी देशहरूलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन् । उनले अमेरिकाले इरानमाथि पुनः आक्रमण गरे त्यसको जवाफ “विनाशकारी” हुने दाबी गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै नबाभियानले क्षेत्रीय गतिविधिहरूले “अमेरिकी शासनको नयाँ मूर्खता” तर्फ संकेत गरिरहेको बताएका छन् ।
उनले चेतावनी दिँदै भने, 'यसपटक इरानले कडा प्रतिक्रिया जनाउनेछ—तेल उत्पादन पूर्ण रूपमा रोक्ने, पूर्वाधार ध्वस्त पार्ने र जनतालाई विस्थापित बनाउनेसम्मका कदम चाल्न सक्नेछ ।'
हालै इस्लामाबादमा भएको वार्ताको पहिलो चरणमा समेत सहभागी रहेका नबाभियानको अभिव्यक्तिले क्षेत्रीय तनाव थप बढाएको छ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अनिश्चितकालका लागि विस्तार गरेका छन्। तर, अमेरिकी रक्षा सचिव पिट हेगसेथले अमेरिका इरानका पूर्वाधारमाथि आक्रमण गर्न “पूर्ण रूपमा तयार” रहेको बताएका छन्।