Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन शाहले भने - सहिदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन

बालेन शाहले भने - सहिदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन

शुक्रवार , माघ १६, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले सहिदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

सहिद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले शहीदहरूको सपना अझै अधुरै रहेको उल्लेख गरेका हुन्।

सन्देशमा शाहले राणा शासनविरुद्ध सङ्घर्ष गर्ने गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई स्मरण गर्दै उनीहरूको क्रूर हत्या भएको ८५ वर्ष बितिसकेको बताएका छन्।

'त्यसको एक दशकपछि राणा शासनको अन्त्य त भयो, तर राज्य जनताको बन्न सकेन,' उनले लेखेका छन्। पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको उनले टिप्पणी गरेका छन्।

शाहले भदौमा भएको ‘जेनजी आन्दोलन’ को सन्दर्भ उल्लेख गर्दै सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले ज्यान गुमाउनुपरेको घटनालाई पनि स्मरण गरेका छन्। '८५ वर्ष पहिलेजस्तै, यसपटक पनि परिवर्तनको माग गर्नेहरू शहीद बन्न बाध्य भए,' उनले उल्लेख गरेका छन्।

उनका अनुसार अब शहीदका सपना पुरा गर्ने ऐतिहासिक जिम्मेवारी वर्तमान पुस्ताको काँधमा आएको छ। लामो समयदेखि जरा गाडेर बसेको भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नु, राज्यका निकायमा भएको चरम दलीयकरण अन्त्य गरी राज्यलाई जवाफदेही र पारदर्शी बनाउनु आजको प्रमुख आवश्यकता भएको उनले बताएका छन्।

'अब समय आएको छ—शहीदको रगतलाई सम्मान गर्दै उनीहरूको सपना पुरा गर्ने। सुशासनयुक्त, भ्रष्टाचारमुक्त र आर्थिक रूपमा उन्नत नेपाल निर्माण गर्ने,' शाहले सन्देशमा भनेका छन्।

अन्त्यमा, अब फेरि कसैले शहीद बन्नु नपरोस् भन्ने कामना गर्दै शाहले सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077