काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सत्ता गठनको तीव्र तयारी सुरु भएको छ । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह यतिबेला मन्त्री चयनको अन्तिम गृहकार्यमा जुटेका छन् ।
बिहीबार मात्रै बालेन शाह संसदीय दलको नेता चयन भएसँगै सरकार गठनको प्रक्रिया थप तीव्र बनेको हो । उनी शुक्रबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिने तयारीमा छन् ।
तर, मन्त्रालयको संख्या र मन्त्रीहरूको नाम टुङ्गो नलाग्दा शीर्ष तहमा निरन्तर आन्तरिक छलफल भइरहेको छ। स्रोतका अनुसार लामिछाने र शाहबीच आजै मन्त्री चयन टुङ्ग्याउने लक्ष्यसहित गम्भीर छलफल चलिरहेको छ ।
सरकारको संरचनाबारे पनि अझै अन्तिम निर्णय भएको छैन। मन्त्रालय संख्या १६ राख्ने कि १८ पुर्याउने भन्ने विषयमा मतभेद देखिएको छ।