काठमाडौं । गृह मन्त्रालयले अब कानुन विपरीत गरिएका काम–कारबाहीहरू नेपाल प्रहरीद्वारा जारी हुने चारित्रिक प्रमाणपत्रमै उल्लेख हुने स्पष्ट पारेको छ ।
यस्तो विवरणले वैदेशिक अध्ययन, रोजगारी तथा विदेश भ्रमणमा गम्भीर असर पार्न सक्ने भन्दै मन्त्रालयले सर्वसाधारणलाई सचेत गराएको छ ।
गृह मन्त्रालयले अपराधसम्बन्धी राष्ट्रिय अभिलेखलाई व्यवस्थित गर्न अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८१ कार्यान्वयनमा रहेको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार मौजुदा कानुनी व्यवस्था, विधि र प्रक्रिया विपरीत गरिएका गतिविधि चारित्रिक प्रमाणपत्र जारी गर्दा अनिवार्य रूपमा उल्लेख गरिनेछ ।
मन्त्रालयले जारी गरेको सूचनामा कानुन प्रतिकुल कार्यका कारण भविष्यमा वैदेशिक अध्ययन, रोजगार, आप्रवासन र अन्य अवसरहरूमा प्रतिकूल प्रभाव पर्न सक्ने स्पष्ट संकेत गरिएको छ ।
गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता आनन्द काफ्लेले निर्देशिका विपरीत चारित्रिक प्रमाणपत्र जारी गरेमा, प्रमाणपत्रमा केरमेट वा थपघट गरिएमा त्यसलाई लिखतसम्बन्धी कसूर मानी प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्।
उनका अनुसार चारित्रिक प्रमाणपत्र अब केवल औपचारिक कागज नभई नागरिकको कानुनी आचरण प्रतिबिम्बित गर्ने आधिकारिक अभिलेखको रूपमा प्रयोग हुनेछ ।