काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरलाई भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय प्रयोग गर्न सहमति दिएको छ ।
साइबर ब्युरोले प्रयोग गर्दै आएको कित्ता नम्बर ३५३, ३५४ र ३५५ मा फैलिएको चार आना दुई पैसा एक दाम क्षेत्रफलको जग्गा तथा सोही जग्गामा निर्मित भवन महानगरपालिकाको प्रयोगका लागि उपलब्ध गराइने निर्णय गरिएको हो।
यस सहमतिका बदलामा काठमाडौँ महानगरपालिका रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी दुई पैसा तीन दाम क्षेत्रफलको जग्गा नेपाल सरकारको नाममा दर्ता गराउन सहमत भएको गृह मन्त्रालयले जनाएको छ।
गृहमन्त्रालयका उपसचिव वर्तराज पौडेलले आइतबार दुई पक्षबिच भएको छलफलपछि निर्णय भएको जानकारी दिँदै भने- 'उक्त जग्गा नेपाल सरकारको नाममा दर्ता भइसकेपछि कम्तीमा ८ आना जग्गा समरजंण कम्पनी कार्यालयको लागि प्रयोग हुनेछ र बाँकी जग्गा उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपयोग गर्ने व्यवस्था मिलाइनेछ ।'
यसअघि काठमाडौं महानगरपालिकाले भोटाहिटीस्थित साइबर ब्युरो भवनमा आफ्नो वडा कार्यालय राख्न माग गर्दै आएको थियो ।
उपयुक्त कानुनी व्यवस्थाअनुसार सार्वजनिकरसरकारी जग्गाको संरक्षण स्थानीय सरकारले गर्ने भएकाले, त्यसको प्रयोगका लागि सम्बन्धित निकायसँग समन्वय र गृह मन्त्रालयको सहमति लिनुपर्ने नियम पालना गरिएको हो ।