काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्रसँगै विद्यालयमा पठनपाठन पनि वैशाख १५ गतेबाटै सुरु गर्ने निर्णय गरेको छ।
संघीय सरकारको निर्णयभन्दा फरक कदम चाल्दै महानगरले वैशाख २१ बाट मात्र कक्षा सञ्चालन गर्ने केन्द्रको निर्देशनलाई व्यवहारतः अवज्ञा गरेको हो ।
महानगरको शिक्षा विभागले जारी गरेको सूचनामा नयाँ शैक्षिक सत्र वैशाख १५ देखि नै प्रभावकारी रूपमा लागू गरी सोही दिनबाट पठनपाठन सञ्चालन गर्न विद्यालय र सरोकारवालालाई निर्देशन दिइएको छ।
महानगरका अनुसार शिक्षक–कर्मचारी र विद्यार्थीमा परेको असर, विद्यालय व्यवस्थापन समितिहरूको सुझाव तथा काठमाडौँ उपत्यकाका मेयरहरूको अनुरोधलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।
यसअघि संघीय सरकारले वैशाख १५ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने र वैशाख २१ गतेबाट मात्र पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार स्थानीय तहलाई पत्राचारसमेत गरिएको थियो ।
