काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जहाँबाट निर्वाचनमा उम्मेदवार बने पनि पराजित हुने दाबी गरेका छन् ।
शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बस्नेतले बालेनलाई असफल मेयरको संज्ञा दिँदै यस्तो टिप्पणी गरेका हुन्।
बस्नेतले बालेनलाई भक्तपुर वा झापाबाट नभई आफ्नै पुर्ख्यौली जिल्ला महोत्तरीबाट चुनाव लड्न चुनौती दिए।
‘बालेनजी जहाँबाट उठे पनि जित्दैनन्। हिम्मत र आँट छ भने महोत्तरीबाट उठ्नुपर्यो,’ बस्नेतले भने, ‘संसदीय राजनीतिमा आउन चाहने नेताले आफ्नै क्षेत्रबाट चुनाव लड्नुपर्छ। हिम्मत छैन भने झापा जानुको अर्थ हुँदैन।’
उनले बालेन हाल सामाजिक सञ्जाल र फोटो सेसनमा मात्र केन्द्रित रहेको आरोप लगाए।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएपछि बालेन समेत अत्तालिएको टिप्पणी गरे।
‘रवि लामिछानेमाथि किन फिराद लाग्यो भन्ने विषयले उहाँ पनि फसिने हो कि भन्ने चिन्तामा हुनुहुन्छ,’ बस्नेतले भने।
झापाबाट बालेन शाहले चुनाव लड्ने चर्चाप्रति व्यंग्य गर्दै बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीको गढ मानिने क्षेत्रमा बालेनले चुनाव जित्नु त परको कुरा, भाडामा कोठासमेत नपाउने दाबी गरे।