काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की आफैँ संलग्न रहेको आरोप लगाएका छन् ।
आज पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
सचिव बस्नेतले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएर कानुन विपरीत काम गरेको जिकिर गरे ।
उनले भने- 'जुन ढंगले सेटिङको आधारमा एक घण्टाको अन्तरालमा निर्वाचन आयोगले जे निर्णय गर्यो । त्यो बेठिक गर्यो भन्ने शेरबहादुर देउवाजीहरूले जे भन्नुभएको छ । त्यो कुरामा हाम्रो पनि समर्थन छ । र काँग्रेसको विभाजन भनेको लोकतन्त्र माथिको प्रहार हो । कांग्रेस र एमाले जस्तो शक्तिलाई कमजोर बनाउने र रवि लामिछाने जस्ता बलियो बनाउने कुरामा सुशीला कार्की लगायतका अन्तर्राष्ट्रिय शक्तिहरू जुन ढंगले लागेका छन् । यो निकै गम्भीर विषय हो भन्ने हाम्रो निष्कर्ष हो ।'
उनले प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय शक्तिहरूले कांग्रेसलाई विभाजन गरेर रवि लामिछाने जस्तालाई बलियो बनाउने कुकर्म गरिरहेको समेत बताए ।