काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई हत्या गर्ने धम्की दिएको आरोपमा फरार रहेका प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मार्फत डिफ्युजन नोटिस जारी भएपछि पाठकलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) अन्तर्गतको फरार अभियुक्त खोजी युनिटले मालोलोस सहरबाट नियन्त्रणमा लिएको हो ।
फिलिपिन्सको अध्यागमन विभागले पाठकको फोटोसहित विवरण आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको छ । जिल्ला अदालत, काठमाडौंले १ डिसेम्बर २०२५ मा पाठकविरुद्ध आपराधिक विश्वासघात कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।
इन्टरपोलमा पाठकविरुद्ध जबरजस्ती असुली र आपराधिक षडयन्त्र सम्बन्धी आरोपमा समेत डिफ्युजन नोटिस जारी भएको थियो ।
फिलिपिन्सको अध्यागमन रेकर्ड अनुसार पाठक १८ अगस्ट २०२५ मा त्यहाँ प्रवेश गरेका थिए र १८ डिसेम्बरसम्म बसोबास अनुमति पाएका थिए। उनलाई डिपोर्ट प्रक्रिया पूरा नभएसम्म अध्यागमन हिरासतमा राखिने जनाइएको छ।
यसअघि पाठकले आफूलाई उग्रवादी संगठनको प्रमुख भएको दाबी गर्दै अख्तियार प्रमुख राईसहितलाई हत्या गर्ने धम्की दिएका थिए। उक्त प्रकरणमा उनका तीन जना सहयोगीलाई काठमाडौं प्रहरीले पहिले नै पक्राउ गरिसकेको छ।
प्रहरीले पाठकलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ भने घटनासँग सम्बन्धित सबै कोणबाट थप अनुसन्धान गरिरहेको छ ।
आफूलाई उग्रवादी समूह ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ को अध्यक्ष भन्ने पाठकले झण्डै एक महिना अघि सामाजिक सञ्जालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका राई लगायतका व्यक्तिहरुलाई मार्ने भन्दै अभिव्यक्ति सार्वजनिक गरेका थिए ।
उक्त सूचीमा अख्तियार प्रमुख राई, अख्तियारकै पूर्वप्रमुख लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक, सुडान काण्डमा जोडिएका तीन जना पूर्वआईजीपीहरु ओमविक्रम राना, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरी, कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र मेडिकल व्यवसायी दुर्गा प्रसाई रहेका थिए ।
पाठकले आफूसँग कुनै पनि नेपाली डकुमेन्ट नेपाली नागरिकता, पासपोर्ट लगायतका डकुमेन्ट नै नभएको भन्दै आफू पक्राउ परे पनि नेपाल जान नपर्ने दाबी गरेका थिए ।