काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्च पदस्थ व्यक्तिहरूलाई धम्क्याएको आरोपमा प्रहरीले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग बयान लिएको छ ।
भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अधिकारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले कारागार कार्यालय डिल्लीबजारबाट निकालेर बिहीबार र शुक्रबार बयान लिएका हुन् ।
प्रहरीले अधिकारीसँग भीआईपीहरूलाई धम्क्याउन प्रकाश पाठकलाई ‘सुपारी’ दिएको विषयमा सोधपुछ गरेको थियो । पक्राउ परेका पाठकलाई अन्तर्राष्ट्रिय प्रहरी संगठनको सहयोगमा नेपाल ल्याइएको थियो। पाठकले सामाजिक सञ्जालमार्फत भीआईपीहरूलाई धम्क्याउने कार्यमा संलग्न रहेको र त्यसका लागि रकम लिएको स्वीकार गरे पनि अधिकारीको संलग्नताबारे भने प्रस्ट खुलेको छैन।
भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा भएको भनिएको अनियमितताबारे अख्तियारले अनुसन्धान अघि बढाउँदा अधिकारीले पाठकमार्फत अख्तियार प्रमुखलाई धम्क्याउन लगाएको प्रहरीले आरोप लगाएको छ ।
अधिकारीमाथिको अनुसन्धान जारी रहेको बताइएको छ । स्रोतका अनुसार अधिकारीले बयानका क्रममा आफुले पाठकलाई नचिनेको र आपराधिक कार्यमा आफु कतै पनि संलग्न नरहेको जिकिर गरेका छन्।
अधिकारीलाई फसाउने योजना अन्तर्गत पाठकसँग जोडेर प्रहरीले वद्नाम गराएको अधिकारीको परिवारका एक सदस्यले आरोप लगाएका छन्।