काठमाडौं । उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा फिलिपिन्समा पक्राउ परेका ३३ वर्षीय प्रकाश पाठकलाई नेपाल ल्याइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र इन्टरपोलको संयुक्त टोलीले फिलिपिन्सबाट पक्राउ गरी उनलाई आज नेपाल ल्याएको हो
परिसरको टोलीले पाठकलाई लिन फिलिपिन्स पुगेको थियो ।
काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका पाठकमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईसहित १० जना उच्चपदस्थ व्यक्तिहरूलाई अल्टिमेटम दिएर ज्यान मार्ने धम्की दिएको अभियोग छ ।
धम्की दिएपछि अनुसन्धानको क्रममा उनी फिलिपिन्समा रहेको पत्ता लागेको थियो ।
उनको बारेमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी र इन्टरपोलमार्फत डिसेम्बर १२ मा डिफ्युजन नोटिस जारी भएको थियो ।
डिसेम्बर ३१ मा मालोलस सिटीमा फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनको फ्युजिटिभ सर्च युनिटले फिलिपिनी नेसनल पुलिससँगको संयुक्त अपरेसन गरी उनलाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा पाठक अन्य गम्भीर सुरक्षा चुनौतीका गतिविधिमा समेत संलग्न रहेको पाइएको छ ।
उनीमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीको सीआरएस (क्रिमिलन रेकर्ड सिस्टम) जाँच गर्दा सार्वजनिक अपराध (अभद्र व्यवहारको कसुर) देखि ठगी तथा आपराधकि विश्वास, आपराधिक लाभसम्मको चार वटा कसुरमा मुद्दा चलेको खुलेको छ।
साथै उनले जेलबाट भागेका कैदीहरूलाई आर्थिक सहयोग गर्ने, हतियारमा पहुँच पुर्याउने र आत्मसमर्पण नगर्न उक्साउने गरेको सूचना प्राप्त भएको फिलिपिन्सको अध्यागमन विभागले जनाएको छ ।
को हुन् पाठक ?
पाठक काभ्रेपलाञ्चाक जिल्लाको तेमाल गाउँपालिका–१ सर्स्युंखर्कका स्थायी बासिन्दा हुन् । अन्दाजी ३४ वर्षका उनी भारतमा डाक्टर पढिरहेका व्यक्ति हुन् । तर, पारिवारिक रुपमा सम्पर्कमा नरहेका उनी पछिल्लो समय कहाँ र के गर्दै थिए भन्नेबारे यकिन जानकारी नभएको खुलेको छ ।
पाठकका मामा उमेश खकुरेलले त यस अघि नै पाठक सामान्य तथा इमान्दार भएकाले परिवारले धेरै रकम खर्च गरेर डाक्टर पढाउन भारत पठाएको बताएका थिए । तर, एकाएक उनी कसरी ज्यान मार्न धम्की दिनेसम्मको भए भन्ने बारे परिवार नै अचम्मित परेको खकुरेलको भनाई छ ।
परिवारले विद्यालयस्तरको पढाई पनि बनेपामा राखेर बोर्डिङमा पढाएका थिए । विद्यालय तहको पढाई सकिनेबितिक्कै काठमाडौं बसेर पढेका उनी डाक्टर पढ्न भन्दै भारत गएका थिए ।
पाठकले डाक्टर बन्नका लागि आवश्यक पढाइ सके कि सकेनन् भन्ने बारे पनि परिवार अझै अनभिज्ञ नै छ । प्रकाशका भाइ प्रदीपले पनि धेरै वर्षदेखि दाइ लगभग २ वर्षदेखि पारिवारिक रुपमा सम्पर्कमा नआएको जानकारी यस अघि नै दिइसकेका थिए । प्रकाशले चलाउने सामाजिक सञ्जाल पनि अहिले निष्क्रिय छ ।
पाठकले पत्रमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाल आयल निगमका पूर्वप्रमुख गोपाल खड्का, अख्तियारकै पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वआईजीपी ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको नाम उल्लेख गर्दै धम्की दिइएका थिए ।
पत्र सार्वजनिक भएपछि एउटा भिडियो सन्देश समेत सार्वजनिक गर्दै उनले १० दिनभित्र राजीनामा दिन अख्तियार प्रमुख राईलाई धम्की दिएका थिए । बहालवाला अख्तियार प्रमुखलाई ज्यान मार्नेसम्मको धम्की आएपछि यसबारे अख्तियारले प्रहरीसँग समेत छलफल गरेको थियो ।