काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित देशका उच्च पदस्थ व्यक्रिहरुलाई लक्षित गरी हत्या गर्ने धम्की दिने ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजिएन)’ नामक समूहको संगठन संयोजक प्रकाश पाठक पक्राउ परेका छन्।
पाठकलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको समन्वयमा फिलिपिनो प्रहरीले फिलिपिन्सको राजधानी मनिलाबाट नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार पाठकलाई नेपाल ल्याएर आवश्यक कानूनी कारबाही अघि बढाइने छ । पक्राउपछि औपचारिक हस्तान्तरण प्रक्रिया पूरा गर्न कम्तीमा दुई दिन लाग्ने र टोलीको आवतजावतसहित समग्र प्रक्रिया एक साताभित्र टुंगो लाग्ने अनुमान गरिएको छ।
पाठक नेतृत्वको उक्त समूहले मंसिर दोस्रो साता प्रमुख आयुक्त राईलाई १० दिनको अल्टिमेटम दिँदै हत्या गर्ने धम्की दिएको थियो। अख्तियारको आधिकारिक इमेलमा पठाइएको सन्देशमा १० जनाको हत्या गर्ने योजना बनाइएको र त्यसमा राईको नाम समेत समावेश रहेको उल्लेख थियो।
आफूलाई संगठन प्रमुख बताउने पाठकद्वारा हस्ताक्षरित पत्रमा फरार कैदी प्रयोग गरेर हत्या गराउने र आर्थिक सहयोग गर्ने उल्लेख गरिएको थियो।
प्रहरीले धम्की आएलगत्तै संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र लोकेसन ट्रयाक भइरहेको जनाएको थियो। फिलिपिन्समा पाठक पक्राउ परेसँगै उच्च पदस्थ व्यक्तिहरूलाई धम्की दिँदै आएको उग्रवादी सञ्जालबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।
यसैबीच, पाठकले फेरि प्रमुख आयुक्त राईलाई धम्क्याउँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्राउ नगरेको विषयमा रोष प्रकट गरेका थिए।
पाठकले पठाएको सन्देशमा भनिएको थियो–‘अहिले तपाईं सुरक्षा घेरामा हुनुहुन्छ। माधव नेपाललाई दुई दिनभित्र पक्रेर जेल नहालेमा तपाईंको परिवारका सदस्यहरूलाई सिध्याउन हाम्रा सुटरहरू रेडी छन्।’
प्रहरीले यस विषयलाई उच्च संवेदनशीलताका साथ अनुसन्धान गरिरहेको र सबै कोणबाट तथ्य संकलन भइरहेको जनाएको छ।
को हुन् पाठक ?
ईएनजी भनेर लेटरहेडमा लेखिएको पत्रमा ‘चेयरमेन’ भनेर नाम उल्लेख भएका पाठक काभ्रेपलाञ्चाक जिल्लाको तेमाल गाउँपालिका १ सर्स्युंखर्कका स्थायी बासिन्दा हुन् । लगभग ३३–३४ वर्षका उनी भारतमा डाक्टर पढिरहेका व्यक्ति हुन् । तर, पारिवारिक रुपमा सम्पर्कमा नरहेका उनी पछिल्लो समय कहाँ र के गर्दै थिए भन्नेबारे यकिन जानकारी थिएन ।
पत्रमार्फत उनले अख्तियारका प्रमुख आयुक्त राईदेखि नेपाल आयल निगमका पूर्वप्रमुख गोपाल खड्का, अख्तियारकै पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वआईजीपीत्रय ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको नाम उल्लेख गर्दै धम्की दिएका थिए ।