Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको बन्दसूची विवाद : एकपछि अर्को नाम फिर्ता, तर प्रकाश सपूत अझै मौन !

रास्वपाको बन्दसूची विवाद : एकपछि अर्को नाम फिर्ता, तर प्रकाश सपूत अझै मौन !

शनिवार , पौष १९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फको बन्दसूची सार्वजनिक भएलगत्तै चर्किएको विवादले पार्टी नेतृत्वलाई दबाबमा पारेको छ ।

सामाजिक सञ्जालदेखि नागरिक तहसम्म व्यापक असन्तुष्टि देखिएपछि रास्वपाले विवादास्पद नामहरू क्रमशः हटाउन थालेको छ।

यही क्रममा उज्यालो नेपाल पार्टीमा रहेर रास्वपाको समानुपातिक बन्दसूचीमा समेटिएकी डा. त्रिशला गुरुङले आफ्नो नाम औपचारिक रूपमा फिर्ता लिएको घोषणा गरेकी छन्।

त्यसैगरी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको टिममा रहेर बन्दसूचीमा परेका आशिफ शाह र रास्वपाकै समानुपातिक उम्मेदवार सचिन ढकालले पनि उम्मेदवारी फिर्ता लिने निर्णय सार्वजनिक गरेका छन् ।

यही क्रममा डा. महेन्द्र लावती र टासी ल्हाक्पा शेर्पाले पनि आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन ।

तर बन्दसूची विवादको केन्द्रमा रहेको एक नाम भने अझै मौन छ — गायक तथा कलाकार प्रकाश सपूत

काठमाडौं महानगरका मेयर बालेन शाह निकट मानिने सपूतले चौतर्फी आलोचना भइरहँदा पनि सार्वजनिक धारणा नदिँदा विवाद झन् चर्किएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, प्रत्यक्ष निर्वाचनबाट समेत जित्न सक्ने हैसियत भएका व्यक्ति समानुपातिक सूचीमा बस्नु नै विवादको मुख्य कारण हो।

सपूतको मौनतालाई धेरैले ‘राजनीतिक अवसरवाद’ वा ‘लिसोपन’ को संज्ञा दिँदै आलोचना गरेका छन्।

यसअघि पनि उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेपछि व्यापक आलोचना खेप्नुपरेको थियो, जसको असर उनको कलाकारितामा समेत देखिएको थियो।

रास्वपाले बन्दसूचीमा सुधार गर्दै जनआक्रोश कम गर्ने प्रयास गरिरहँदा पनि प्रकाश सपूतको मौनताले बहसलाई जीवित राखेको छ। अब पनि प्रकाश सपूत जनआवाज सुनेर कदम चाल्छन् कि मौनतामै टिकिरहन्छन्?

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077