काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकीकरण भएसँगै रास्वपामा तीन जना उपसभापति रहने निर्णय गरिएको छ ।
यसअघि रास्वपामा डीपी अर्याल र स्वर्णिम वाग्ले उपसभापति थिए । अब कुलमान घिसिङ पनि उपसभापतिमा रहनेछन् र उनलाई वरिष्ठ उपसभापतिको जिम्मेवारी दिइने सहमति पत्रमा उल्लेख गरिएको छ ।
यस अगाडि रवि लामिछाने सभापति र बालेन शाहलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो । अब त्रिपक्षीय सहमतिमा बालेनलाई तेस्रो वरीयतामा राखिने भएको छ ।
नयाँ सहमतिसँगै हालका उपसभापतिद्वय डीपी अर्याल चौथो र डा. स्वर्णिम वाग्लेको वरीयता पाँचौँमा रहने भएका छन् ।
यसैगरी कुलमान पक्षले रास्वपाको केन्द्रीय कमिटीमा वरिष्ठ उपसभापतिसहित महामन्त्री र ३० प्रतिशत हिस्सापनि पाउने सहमति भएको बताइएको छ ।
यस्तै, आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा कुलमान पक्षले प्रत्यक्षतर्फ २० प्रतिशत र समानुपातिकतर्फ ३० प्रतिशत हिस्सा पाउने सहमति पनि भएको छ।