काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भएको राजनीतिक सहमतिलाई रास्वपाको केन्द्रीय समितिले औपचारिक रूपमा अनुमोदन गरेको छ ।
रास्वपा सभापति रवि लामिछानेको सभापतित्वमा आइतबार राति बसेको केन्द्रीय समितिको विशेष बैठकले दुवै पक्षबीच भएको ‘वृहत् एकता’ सम्बन्धी सहमतिलाई सर्वसम्मत रूपमा अनुमोदन गर्ने निर्णय गरेको हो ।
बैठकपछि जानकारी दिँदै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले राष्ट्र हितलाई केन्द्रमा राखेर उक्त सहमति अघि बढाउने निर्णय भएको बताए ।
उनका अनुसार बैठकले सहमतिलाई राष्ट्र हितका लागि बृहद् आँट, त्याग र आशाको प्रतीकका रूपमा व्याख्या गर्दै यसको प्रभावकारी कार्यान्वयनमार्फत मुलुकमा व्याप्त भ्रष्टाचार र बेथितिको अन्त्य, सुशासनको स्थापना, समुन्नति, लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।
रवि लामिछाने र बालेन शाहबीच भएको सहमतिलाई पछिल्ला दिनहरूमा नयाँ राजनीतिक ध्रुवीकरणका रूपमा हेरिँदै आएको छ ।