काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोटका लागि आजदेखि आन्तरिक ‘प्राइमरी इलेक्सन’ सुरु गरेको छ । पार्टीका अनुसार मतदान आज बिहान ७ बजेदेखि भोलि साँझ ७ बजेसम्म गर्न सकिनेछ ।
प्राइमरी इलेक्सन पार्टीको मोबाइल एपमार्फत हुनेछ । पुस ५ गतेसम्म नेपालभित्र वा बाहिरबाट पार्टी सदस्य बनेकाले मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
प्रवक्ता मनिष झाका अनुसार निर्वाचन आयोगको नयाँ क्लस्टर डिभिजनअनुसार ११० जनाको बन्दसूची तयार गरिनेछ, जसमा खस आर्य, आदिवासी जनजाति, मधेशी, दलित, थारु र मुस्लिम क्लस्टर समेटिने छन् । तीमध्ये कम्तीमा ५७ जना महिला उम्मेदवार अनिवार्य हुने व्यवस्था छ।
मतदान प्रक्रियामा प्रत्येक क्लस्टरबाट कम्तीमा १० प्रतिशत उम्मेदवार छान्नुपर्नेछ भने अधिकतम ११० जनासम्म मत दिन सकिनेछ। मतदान ओटिपी प्रणालीमार्फत हुने र ओटिपीको वैधता तीन घण्टासम्म रहने रास्वपाले जनाएको छ।
सम्भावित प्राविधिक समस्या पहिचान गर्न पार्टीले गएराति ७ बजेदेखि १० बजेसम्म ‘मक इलेक्सन’ समेत गरेको थियो ।