काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भदौ २४ गते भएको घटनालाई विद्रोहभन्दा बढी विध्वंसको संज्ञा दिँदै त्यसमा जेनजी युवाहरूको संलग्नता नरहेको जिकिर गरेका छन् ।
आइतबार विराटनगरमा आयोजित ‘कांग्रेस र नेपालको यात्राः हिजो, आज र भोलि – चुनौती, अवसर र सम्भावना’ विषयक युवासँगको संवाद कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भदौ २३ गते भएको जेनजी आन्दोलन शान्तिपूर्ण र युवाहरूको आवाज अभिव्यक्त गर्ने लोकतान्त्रिक अभ्यास भएको बताए ।
उनले भने, 'भदौ २३ गतेको आन्दोलन युवाहरूको सचेत र शान्तिपूर्ण अभिव्यक्ति थियो। तर भदौ २४ गते जे भयो, त्यो आन्दोलन होइन, विध्वंस हो। त्यसमा जेनजी युवाहरूको हात छैन।'
उनले दुवै दिनका घटनाबारे निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै भदौ २३ र २४ गतेका दोषी जोसुकै भए पनि कानुनको दायरामा ल्याउनुपर्ने माग गरे ।
कार्यक्रममा नेता कोइरालाले शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणप्रति गम्भीर चिन्ता व्यक्त गरे । शिक्षामा राजनीतिक हस्तक्षेपका कारण गुणस्तर खस्किँदै गएको उल्लेख गर्दै उनले शिक्षाबाट राजनीतिलाई पूर्ण रूपमा हटाउनुपर्ने आवश्यकता औंल्याए।