मोरङ। नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर-६ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार शेखर कोइरालाले सुकुम्वासीको दीर्घकालीन व्यवस्थापनका निम्ति आफूले ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
बुधबार पार्टीको क्षेत्रीय सभालाई सम्बोधन गर्दै उनले सुकुम्वासी बस्तीका समस्या समाधानलाई आफूले प्राथमिकतामा राखेको बताएका हुन् ।
'तपाईंहरूको पीडा र समस्या नजिकबाट बुझेको छु । आयोगका सदस्यसँग कुरा भएको छ । उहाँ आएर तपाईंहरूको समस्या सुन्नुहुन्छ र व्यवस्थापनको काम अघि बढ्छ,' उनले भने ।
आफूले सुकुम्वासी आयोगका सदस्यसँग प्रारम्भिक छलफल गरिसकेको र आयोगका प्रतिनिधि स्वयं बस्तीमै आएर स्थानीयका समस्या सुन्ने वातावरण बनाइने उनको भनाइ थियो ।
साथै कोइरालाले सरकारी अस्पतालको सेवा विस्तार र कलेज स्थापनाका लागि पनि ठोस पहल गर्ने बताए।
'सामान्य परीक्षणका लागि पनि बिरामीले बाहिर जानुपर्ने अवस्था र हाम्रो छोराछोरीले पढ्नका लागि घर छोड्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ,' उनले भने।
हाल विद्यार्थीहरू उच्च शिक्षाका लागि विराटनगर जान बाध्य रहेको उल्लेख गर्दै उनले आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यो ठुलो समस्या भएको बताए। उनले स्थानीय स्तरमै कलेज स्थापना गर्न पहल गर्ने घोषणा गरे।