बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू रिहा भए पनि न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन् ।
जिल्ला अदालत रुपन्देहीमा उपस्थित भई बिगोबापतको रकम बुझाएर छुटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो संघर्ष व्यक्तिगत नभई देशको न्यायका लागि भएको बताएका हुन् ।
'न्यायको यो लडाइँ मेरो बाँकी नै छ। मैले अझ धेरै लड्नु छ र अहिले लड्नु पर्छ। यो लडाइँ मेरो लागि होइन, तपाईंहरूका लागि, यो देशको न्यायका लागि हो,' उनले भने।
लामिछानेले अन्य दलहरूले आफू मात्र होइन, सिंगो देशमाथि अन्याय गरेको आरोप लगाउँदै त्यसको हिसाबकिताब गरेर मात्रै धेरै बोल्ने संकेत गरे।
'यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। त्यो सबैको हिसाब गर्नु छ। आजलाई यति मात्र भन्छु—हिसाब मिलाउन र न्याय पाउन अझै बाँकी छ,' उनले जोड दिए।
देशले छिट्टै न्याय पाउने विश्वास व्यक्त गर्दै उनले आफ्ना कुरा राख्ने समय आउने दोहोर्याए।