काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । मतदानस्थलमा लाइनमा बसेका महाधिवेशन प्रतिनिधिहरूले अहिले विद्युतीय मेसिनमार्फत मतदान गरिरहेका छन् ।
यसअघि हिजो नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउँदै आजबाट मात्र मतदान सुरु गरिएको हो । निर्वाचन समितिका अनुसार मतदान ‘राम–लक्ष्मण’ विद्युतीय भोटिङ मेसिनमार्फत भइरहेको छ ।
सुरुमा एमाले अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरे। एक जना प्रतिनिधिलाई मतदान गर्न ३० देखि ४० मिनेटसम्म समय लाग्ने बताइएको छ।
एमाले अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ । दुवै नेता आफ्ना–आफ्ना प्यानलसहित मैदानमा उत्रिएका छन्।
महाधिवेशनमा १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने केन्द्रीय कमिटीसहित सबै पदमा गरी ३०० भन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।