काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ।
बहुविवाह मुद्दामा पक्राउ परी कैदबापतको रकम बुझाएर छुटेका शेर्पाको उम्मेदवारी पार्टी निर्वाचन आयोगले मापदण्डविपरीत भन्दै खारेज गरिदिएको हो ।
गत कात्तिक १८ गते काठमाडौंको धुम्बाराहीबाट बहुविवाह मुद्दामा पक्राउ परेका थिए। उनलाई एक वर्ष जेल र ५ हजार रुपैयाँ जरिवानाको फैसला अदालतले गरेको थियो ।
त्यसपछि कैदबापतको रकम तिरेर निस्किन पाउँ भन्दै उनले अदालतमा निवेदन दिएका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको आदेश अनुसार उनी कारागारबाट रिहा भएका थिए ।
कैदबापत दिनको ३ सय रुपैयाँको दरले १ लाख ९ हजार ५ सय रुपैयाँ बुझाएर छुटेका थिए ।
उनको उक्त मुद्दाबारे एमाले सचिवालय बैठकमा पनि कुरा उठेको थियो । सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनबारेको विषय उठाउँदै निलम्बन गर्नुपर्ने बताएका थिए । यद्यपि अध्यक्ष ओलीले भने यो विषय सामान्य भएको बताएका थिए ।
१० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका उनले यो महाधिवेशनमा पनि उम्मेदवारी दिएका थिए ।