काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने घोषणा गरिए पनि महासचिवको टुंगो लगाउन दुवै नेतालाई सकस परेको छ ।
अध्यक्षपछिको शक्तिशाली पद मानिएको महासचिव पदको उम्मेदवार हुन नेताहरूको दौडधुप बढेको छ । तर, अध्यक्षका प्रतिस्पर्धी ओली र पोखरेल महासचिवमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा टुंगोमा पुग्न सकेका छैनन् ।
तेस्रो कार्यकालका लागि अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका ओली समूहबाट महासचिव पदका लागि वर्तमान महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले दाबी गरेका छन् ।
यस्तै, वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेल समूहबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण बिष्ट, योगेश भट्टराई महासचिव पदका लागि दौडधुपमा रहेका छन् ।
विष्ट र भट्टराईले महासचिव बन्ने लबिइङ गर्दैगर्दा पाण्डे भने मौन बसेका छन् । पाण्डे पोखरेल समूहको सहमतिमै महासचिव बन्ने र अरू नेताको चित्त दुखाउने काम नगर्ने निष्कर्षमा पुगेका छन् । राजधानी दैनिकबाट