काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले अध्यक्ष, पदाधिकारीसहित वरिष्ठ नेताहरूको लज्जास्पद पराजय भए पनि पार्टी नेतृत्व र संगठन संरचना फेरबदल नहुने भएको छ ।
अध्यक्षसहित सिंगो पार्टी प्रत्यक्षतर्फ ‘सिंगल डिजिटको जित’मा सीमित भएपछि पार्टीभित्रै अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीको राजीनामा माग भइरहेको छ । हारपछि नीति र नेतृत्व परिवर्तन हुनुपर्ने आवाजसमेत पार्टीभित्र उठेको छ ।
एमाले महाधिवेशनमा महासचिवमा पराजित नेता सुरेन्द्र पाण्डे, एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलगायत नेताले नेतृत्व फेरबदल विषयमा मुख खोलेका छन् ।
पार्टीदेखि जनवर्गीय संगठनमा समेत पुनर्संरचना र नेतृत्व परिवर्तनको बहस भइरहेका बेला अध्यक्ष ओलीले भने ‘आफू कुनै पनि हालतमा राजीनामा नदिने’ अडानमा छन् । केन्द्रीय कमिटी बैठक ‘फेस गर्ने’ भन्दै ओली बैठक डाक्ने गृहकार्यमा छन् ।
बैठकमा हारको समीक्षा, नेतृत्व परिवर्तन प्रस्ताव पेस र यसलाई निर्णयार्थ पेस गर्ने ओलीको रणनीति छ । राजधानी दैनिकबाट