काठमाडौं । नेपाली सेनाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित तीन चरणको सुरक्षा रणनीति तयार पारेको छ ।
सेनाले निर्वाचनपूर्व, निर्वाचनको दिन र निर्वाचनपछि मत गणना भई परिणाम घोषणासम्मको गरी तीन चरणको सुरक्षा रणनीति तय गरेको हो ।
राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णय तथा राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि निर्वाचन सुरक्षाका लागि सेना परिचालन भइसकेको छ ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन केन्द्रित तालिम तथा संयुक्त अभ्यास सञ्चालन गरी आवश्यक तयारी पूरा भइसकेको छ ।
सेनाको सुरक्षा घेरामै मतपत्र छपाइ सकिएर हाल ७५ वटा जिल्लामा ढुवानीसमेत भइसकेको बताइएको छ । निर्वाचन आयोगका अनुसार बिहीबारसम्ममा सबै जिल्लामा मतपत्र र निर्वाचन सामग्री ढुवानी भइसक्नेछ ।
आयोगका अनुसार भौगोलिक अवस्थाअनुसार ५ जिल्लामा हवाई माध्यमबाट र अन्य जिल्लामा स्थलमार्गबाट मतपत्र ढुवानी गरिएको हो । राजधानी दैनिकबाट