काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्नु गलत भएको बताएका छन्।
काठमाडौमा बुधवार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
राज्यको संविधानले नरोक्ने, अन्तर्राष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहाना भएमा पार्टी सदस्यता रोक्नु गलत भएको उनले बताए ।
उनले भने- ‘विद्याजीको सदस्यताको बारेमा हाम्रो बुझाई के हो, मत के हो भने राज्यको संविधानले रोक्दैन भने, पार्टीको विधानले रोक्दैन भने, अन्तराष्ट्रिय प्राक्टिसले रोक्दैन भने, व्यक्तिको चाहना छ भने किन नपाउने ? पाउनुपर्छ । यो चिज हुँदैन भन्ने कुरा गलत हो भन्ने हामीले पार्टीभित्र राख्दै राख्दै आयौँ । अहिले पनि त्यो चीजलाई हामीले आफ्नो अवधारणामा राखेका छौँ । यो एजेण्डा यतिमाथिसम्म ल्याउनुपर्ने थिएन।'
विद्या भण्डारीको पार्टी सदस्यतालाई यत्रो एजेण्डाको रुपमा उठाउन पर्ने विषय नै नरहेको उनले बताए ।
उनले पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीका बारेमा आफूले पश्न उठाउँदै आएको पनि बताए । पार्टीभित्र जबजको बारेमा कुनै मतभिन्नता नरहेको भएपनि कार्यशैलीभित्र भने व्यापक मत भिन्नता रहेको उनको भनाई थियो ।