काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।
विपिनकुमार आचार्य संयोजकत्वको उम्मेदवार छनोट समितिले आजदेखि आन्तरिक छनोट प्रक्रियामा सहभागी हुन योग्य सदस्यहरूलाई उम्मेदवारी दिन आह्वान गरेको छ ।
'आगामी २१ फागुनमा हुने संघीय निर्वाचनअन्तर्गतको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यहरूलाई उम्मेदवार छनोट रूपरेखाबमोजिम आजदेखि उम्मेदवारी आवेदन खुला गरिएको व्यहोरा सूचित गरिन्छ,’ रास्वपाले भनेको छ ।
इच्छुक उम्मेदवारका लागि रास्वपाले आवेदन शुल्क २५ हजार रुपैयाँ तोकेको छ र मङ्सिर २१ गतेदेखि नै उम्मेदवारी आवेदन खुला गरिएको छ। पार्टीले उम्मेदवार छनोट रूपरेखाबमोजिम उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको हो।
योग्य सदस्यहरूले रास्वपाको आधिकारिक मोबाइल एप मार्फत सजिलै उम्मेदवारी आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
पार्टीले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, योग्यता पुगेका इच्छुक सदस्यहरूले आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा पनि उम्मेदवारी दिन सक्नेछन्।
यस्तो अवस्थामा उनीहरूले आफ्नो आवेदनसाथ तोकिएका आवश्यक कागजातहरू अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालय वा इमेलमार्फत उम्मेदवार छनोट समितिमा पेस गर्नुपर्नेछ।