काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन स्वस्थ, मर्यादित र मित्रवत् प्रतिस्पर्धामार्फत नेतृत्व निर्माणको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
भूगोल तथा विशेष कमिटीबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूलाई शुभकामना दिँदै पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) को रक्षा र पार्टी जीवनको लोकतान्त्रीकरणलाई प्रभावकारी बनाउने कार्य महाधिवेशनको केन्द्रीय एजेन्डा बन्नुपर्ने बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत् जारी भिडियो सन्देशमा पोखरेलले भने, 'एमाले जनताको बहुदलीय जनवादको रक्षा र पार्टी जीवनको लोकतान्त्रीकरणलाई मजबुत बनाउन चाहन्छ। यी कार्यमार्फत् मुलुकलाई समृद्धिको अभियानतर्फ अघि बढाउन हमी प्रतिबद्ध छौं।'
आगामी महाधिवेशनले यी मूल मुद्दामा ठोस निष्कर्ष निकाल्ने अपेक्षा राख्दै उनले संगठनभित्रको नेतृत्व निर्माण स्वस्थ र मित्रवत् प्रतिस्पर्धाबाट हुनुपर्ने आवश्यकता दोहोर्याए ।