काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङलाई एकाएक हेडक्वार्टर तानिएको विषयलाई लिएर सरकारमाथि प्रश्न उठाएका छन् ।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टी सभामा बोल्दै उनले ‘जेनजीलाई सघाएन भन्ने आरोपमा’ प्रहरी अधिकृत हटाइनु नै सरकारको मनोमानीको प्रमाण भएको टिप्पणी गरेका हुन् ।
ओलीले कटाक्ष गर्दै भने, 'जेनजीलाई सघाएन भनेर एसपीलाई तानियो, यो तमासा होइन ?'
उनका अनुसार सिमरामा एयरपोर्ट बन्द गराउने ‘नाटक’ गराउन कुनै जेनजी समूह पुगेको थिएन। उनले थपे, 'प्रहरी त जेनजी बनेर आइदिनुपर्ने ? अब त सरकारलाई प्रहरी पनि एमालेजस्तै देखिन थालेको छ ।'
बाराको सिमरामा उत्पन्न तनावपछि स्थानीय प्रशासनका साथमा चलिरहेका छलफल र परिस्थितिको मूल्यांकनपछि प्रहरी प्रधान कार्यालयले शुक्रबार एसपी तामाङलाई हटाएर उनका स्थानमा एसपी नरेन्द्र कुँवरलाई नियुक्त गरेको थियो ।