काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताएका छन्।
पार्टी निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको टिमसँग आइतबार बिहान आफ्नै निवास गुण्डुमा छलफल गर्दै अध्यक्ष ओलीले अपनत्व कसैले पनि नलिएको बेवारिसे सरकार भन्दै प्रश्न उठाएका हुन्।
बेवारिसे सरकारले तोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहीनतालाई प्रश्रय दिएको दावी गर्दै ओलीले प्रश्न गरे- 'यो सरकार कसको प्रतिनिधि हो ? जेनजीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिनँ भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्था नै छैन भन्छ आखिर यो सरकार कसको हो ?'
अवैधानिक र अनधिकृत रुपबाट विघटन गरिएको संसदलाई पुनःस्थापना गरेर मात्र देशलाई सही बाटोमा हिँडाउन सकिने एक मात्र विकल्प भएको ओलीको भनाई छ ।
ओलीले थप भने- 'विभिन्न नामका समुह खडा गरेर कहिले २४ गतेका विध्वंसकारीलाई पक्रन हुँदैन भन्ने ज्ञापन पत्र बुझाउन लगाएको छ। कहिले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्यो भन्न लगाएको छ। यो कुनै जेनजी समूहले गरेको होइन। सरकारले आफैं यस्ता समूहहरु खडा गरेर,आफैं ज्ञापन पत्रको ड्राफ्ट बनाएर बुझाउन लगाएको नाटक हो ।'