काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत र ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुदन गुरुङबीच सामाजिक सञ्जालमा सवालजवाफ भएको छ । शनिबार बेलुका फेसबुकमार्फत उनीहरूबीच सार्वजनिक रुपमा भनाभन चलेको हो ।
बस्नेतले शनिबार बसेको राष्ट्रिय युवा संघ नेपालको पदाधिकारी बैठकका निर्णय सार्वजनिक गर्दै सरकारले एक साताभित्र गुरुङको नागरिकताबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग राखेका थिए ।
उनले लेखेका छन्, '...यदि सरकारले समयमै स्पष्टता नल्यायो भने युवासंघले आफैं छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउने निर्णय देशप्रेमको उदाहरण हो।'
बस्नेतले ‘जेनजी आन्दोलन’का नाममा भएको हिंसा र तोडफोडमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग पनि सही र आवश्यक कदम भएको बताएका थिए। गुरुङले सोही पोस्टमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।
गुरुङले लेखे, 'थ्यांक यु माई डियर महेश ब्रो,' भन्दै व्यंग्यात्मक शैलीमा थपे, '१० पुस्ते निस्केपछि मेरो नागरिकता तपाईंको निधारमा टालिदिन्छु।'