काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीतर्फ भएको क्षतिबारे छानबिन गर्न बनेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मी नेतृत्वको समितिले प्रतिवेदन बुझाएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई बुझाएको प्रतिवेदनअनुसार, जेनजी आन्दोलनको दुई दिनमा देशभर ४ हजार २४ ‘लाइभ एम्युनेसन’ (धातुका गोली) प्रहार भएको भेटिएको छ ।
प्रहरीको प्रारम्भिक प्रतिवेदनमा २ हजार ६ सय ४२ धातुका गोली प्रहार भएको उल्लेख थियो । तर, अन्तिम प्रतिवेदन तयार हुँदा देशभर झण्डै दोब्बर संख्यामा धातुको गोली प्रहार भएको पाइएको हो ।
प्रहरी उच्च स्रोतका अनुसार, प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले मात्र ५५३, काठमाडौं उपत्यकामा १ हजार ९९३, कोशी प्रदेशमा २९९, मधेश प्रदेशमा ६३९, बागमतीमा १६, गण्डकीमा ४४, लुम्बिनीमा १७०, कर्णालीमा २ र सुदूरपश्चिममा ३०७ धातुका गोली प्रहार भएको पाइएको छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार, २ दिनमा ८ हजार ६५४ अश्रुग्यास प्रहार भएको पाइएको छ । त्यसमध्ये प्रहरी प्रधान कार्यालयले मात्र १ हजार ३५७, काठमाडौं उपत्यका प्रहरी र अन्तर्गत ४ हजार ४९, कोशी प्रदेशमा ८४५, मधेशमा ३७४, बागमतीमा ७८, गण्डकीमा ३६६, लुम्बिनीमा ४४९, कर्णालीमा ४५५, सुदूरपश्चिममा ३८७ अश्रुग्यास प्रहार भएको पाइएको छ ।
प्रतिवेदनअनुसार, प्रहरी प्रधान कार्यालयले ५१६, काठमाडौं उपत्यकाले १ हजार ६८३, कोशीले १५१, मधेशले ६९, बागमतीले ११, गण्डकीले १७१, लुम्बिनीले २८, कर्णालीले १३६ र सुदूरपश्चिममा ११ वटा रबरको गोली प्रहार भएको थियो । प्रहरी प्रधान कार्यालय, उपत्यका र सातवटै प्रदेश गरेर २ हजार ९२० ब्ल्यांक फायरिङसमेत भएको थियो । यसरी दुई दिनमा १८ हजार ३७३ पटक फायरिङ भएको पाइएको छ ।
त्यस्तै, जेनजी आन्दोलनपछि फायर गरिएको बाहेक १३ सय रबर बुलेट हराएको विवरण संकलन गरिएको छ । लुटपाट र मिसिङ हुँदा अश्रुग्याँस सेल २ हजार ८ सय वटा रेकर्डमा फेला परेको छैन । हराएको ७ सय ४७ थान हतियार भेटिएकोमा ४५३ थान हतियार अझै बाहिर छ।
योसंगै प्रहरी कार्यालयहरुबाट हजारौंको संख्यामा गोली लुटपाट भएको प्रहरीको आन्तरिक छानबिन निष्कर्ष छ ।
धातुका गोलीमध्ये अधिकांश घातक हतियार इन्सास, एसएलआर र पेस्तोलबाट चलेका थिए ।
२३ र २४ भदौमा गरेर गोली लागेर ३९ जना मारिएका थिए, तीमध्ये अधिकांशको कम्मरमाथि गोली लागेको थियो ।
काठमाडौं उपत्यकामा मात्र गोली लागेर ३५ जना मारिएकोमा १९ जनाको छाती, १० जनाको टाउको, ४ जनाको पेट र २ जनाको घााटीमा गोली लागेको फरेन्सिक रिपोर्ट छ ।