काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई वर्गीकरण गरी मासिक उपचार खर्च उपलब्ध गराउन थालेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार घाइतेहरूको अवस्था अनुसार आर्थिक सहयोग र उपचार खर्च वितरण प्रक्रिया सुरु गरिएको हो ।
स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार भदौ २३ र २४ गतेका घटनामा अस्पताल भर्ना भएका घाइतेलाई आधार मानेर गृहमन्त्रालयको समन्वयमा वर्गीकरण गरिएको हो।
उनका अनुसार सरकारले घाइतेहरूलाई चार समूहमा विभाजन गर्दै मासिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। सोअनुसार अति गम्भीर घाइते र घाइतेको स्याहारसुसार गर्ने व्यक्तिलाई मासिक ९ हजार रुपैयाँ, गम्भीर घाइतेलाई मासिक ९ हजार रुपैयाँ, तथा मध्यम घाइतेलाई मासिक ४ हजार रुपैयाँ उपलब्ध गराइनेछ। सामान्य घाइतेलाई भने मासिक रकम नदिइने व्यवस्था गरिएको छ।
यससँगै सबै घाइतेलाई एकमुष्ट ३५ हजार रुपैयाँ उपलब्ध गराइसकिएको मन्त्रालयले जनाएको छ।
सरकारले उपलब्ध गराएको विवरणअनुसार कुल ५३९ जना घाइतेलाई चार वर्गमा विभाजन गरिएको छ। तीमध्ये २९ जना अति गम्भीर, १३० जना गम्भीर, ८५ जना मध्यम र २९५ जना सामान्य घाइते रहेका छन्।
डा. बुढाथोकीका अनुसार पाँच चरणमा गरिएको मूल्यांकनपछि वर्गीकरणको काम पूरा भएको हो। गृहमन्त्रालयबाट जारी परिचयपत्रका आधारमा घाइतेको अवस्था निर्धारण गरिएको उनले बताए।