काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालको नेतृत्वमा नयाँ दलको घोषणा हुँदै छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल संरक्षक र भुसाल अध्यक्ष हुनेगरी छलफल थालिएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहित साना कम्युनिस्टका बीचमा पार्टी एकता गर्ने निर्णयसँगै खनाल–भुसाल समूह असन्तुष्ट बनेको छ ।
शनिबार काठमाडौंको सुकेधारामा असन्तुष्ट समूहको भेलामा सहभागीहरूले खनाललाई संरक्षक र भुसालको नेतृत्वमा पार्टी पुनर्गठन गर्नुपर्ने सुझाव दिएको बताइन्छ ।
समाजवादी मोर्चामा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपासहित मोर्चाबाहिर रहेका केही साना कम्युनिस्टहरूका बीचमा पार्टी एकताको गृहकार्य अन्तिम चरणमा पुगेको छ । पार्टी एकीकरणको गृहकार्य चल्दैगर्दा यी पार्टीमा आन्तरिक विद्रोह सुरु भएको हो ।
पार्टी एकताको विरोधमा रहेको खनाल–भुसाल समूहनिकट एक नेताका अनुसार अब झलनाथ खनालको नेतृत्वमा पार्टी पुनर्गठन हुन नसक्ने र नेतृत्वमा दोस्रो पुस्ताका भुसाललाई ल्याउनुपर्ने हुन्छ । भेलामा सोही अनुसारका सुझावहरू आइरहेको र छिट्टै नै पार्टी पनुर्गठनको घोषणा हुने तयारी भइरहेको छ । राजधानी दैनिकबाट