काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा कहिँ कतै रक्तरञ्जित इतिहासका महिमाको सम्झना बाँकी भए पछि हट्न सुझाव दिएका छन् ।
पार्टीको आधिकारिक निर्णय विपरीत उम्मेदवार, प्रस्ताव र प्रचारमा भाग लिइएको भन्दै शनिबार प्रचण्डले हरिबोल गजुरेल, महेश्वर दाहाल, कुलप्रसाद केसी, मेजर राई, धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई कारबाही गरेका थिए ।
कार्यवाहक अध्यक्ष भुसालले कारबाहीको प्रसङ्ग कोट्याउँदै प्रचण्डलाई निष्काशनको निर्णय पुनरावलोकन गर्न सुझाव दिएका हुन् ।
आइतबार सामाजिक सञ्जालमार्फत भुसालले प्रचण्डलाई सम्बोधन गर्दै भनेका छन्- 'हरिबोल गजुरेल र महेश्वर दाहालहरुले तपाईँको अनुशासन उल्लङ्घन गरे होलान्, त्यसको बदलामा अनुशासित र सजिला मानिसहरु भर्ति भैरहेका होलान् । तर नबिर्सिनुस्, तपाईँले आफ्नै जिन्दगीमा गौरव गर्ने केही चिज छ भने त्यो हरिबोल वा महेश्वरहरुजस्ता अप्ठेराहरुले बनाइदिएका हुन् । तपाईँ र तपाईँहरुजस्ता ‘शक्तिशालीहरु’ ले जुन दिनदेखि अप्ठेराहरुको ठाउँमा सजिला र अनुशासित मानिसहरुको भर्ति गर्न थाल्नु भयो तपाईँहरुको गौरवका एक एक गजुरहरु भत्किँदै गए, त्यसको मूल्य हाम्रो समग्र आन्दोलनले भुक्तान गर्दैछ । तपाईँमा कहीँ कतै रक्तरञ्जित इतिहासका महिमाको सम्झना बाँकी छ भने कृपया पछि हट्नुस्, अगाडि बाटो छैन ।'
प्रचण्डले अप्ठेराहरूको ठाउँमा सजिला र अनुशासित मानिसहरूको भर्ती गर्न थालेबाटै गौरवका गजुरहरू भत्किन थालेको र त्यसको मूल्य कम्युनिस्ट आन्दोलनले भुक्तान गरिरहेको भुसालले टिप्पणी गरेका छन् ।