काठमाडौं । घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले फागुन २१ गते हुने निर्वाचनमा मतदातासँग मत माग्न घोषणापत्र सार्वजनिक गरेको छ ।
मङ्गलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विकासको नेपाली बाटोस् सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारासहित नेकपा संयुक्तले घोषणापत्र सार्वजनिक गरेको हो।
घोषणापत्रमा नेपालले विगतका विभिन्न राजनीतिक व्यवस्थामा आफ्नै विकास मोडेल निर्माण गर्न नसकेको उल्लेख छ । राणाकालदेखि बहुदलीय व्यवस्थासम्म विदेशी सहायता र उदारवादी बजार नीतिमा निर्भर रहँदा उत्पादन क्षेत्र कमजोर बनेको र उपभोगमुखी अर्थतन्त्र हाबी भएको विश्लेषण गरिएको छ ।
उद्यमशील राष्ट्र निर्माणलाई पार्टीले पहिलो सर्त मानेको छ । कृषिमा आश्रित हरेक परिवारमा महिनामा न्यूनतम ४०–४५ हजार रुपैयाँ कमाउन सक्ने गरी ग्रामीण कृषिको विकास गर्ने, कृषिमा संरक्षणको नीति बनाएर ५ वर्षमा कृषि उत्पादनमा आत्म निर्भर बन्ने पार्टीको लक्ष्य छ ।
वन, पर्यटन, खानी र जलस्रोतमा आधारित उद्योगलाई संरक्षण र प्रवर्द्धन गर्दै श्रम–सघन उद्योगलाई प्रोत्साहन गर्ने र साना तथा मझौला उद्यम विस्तार गर्ने पार्टीको घोषणापत्रमा उल्लेख छ ।
भूमिहीन किसान, असंगठित क्षेत्रका श्रमिक, वैदेशिक रोजगारीमा गएका कामदार र परम्परागत पेसाबाट विस्थापित समुदायलाई उत्पादनमुखी उद्यममा समेट्ने नीति लिइने जनाइएको छ ।
पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, प्रशासन, कानुन, राजनीति लगायत सबै क्षेत्रलाई १० वर्षमा नेपाललाई उद्यमी राष्ट्र बनाउने गरी पुनर्गठन गर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको छ । यसबाट नयाँ उद्योगीरउद्यमी तयार भएर बेरोजगारी र गरिबी उन्मूलन हुने जनाइएको छ ।
घोषणापत्रमा संविधानले प्रत्याभूत गरेका मौलिक हकको प्रभावकारी कार्यान्वयन नहुँदा राज्य र नागरिकबिच अविश्वास बढेको उल्लेख छ ।
राज्यले रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूति दिन नसक्दा राजनीतिक तथा नैतिक वैधता कमजोर भएको दाबी गरिएको छ । संसदीय व्यवस्थाको ‘घरेलुकरण’ गर्न नसक्दा निर्वाचित प्रतिनिधि र जनताबिच दूरी बढेको भन्दै निर्वाचनलाई व्यक्ति केन्द्रित नभई नीति केन्द्रित बनाउनुपर्ने प्रस्ताव गरिएको छ ।