काठमाडौं । नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानका संयोजक घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले एमालेलाई संकटतर्फ लैजान लागेको बताएका छन् ।
नेता भुसालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो भनेका हुन् ।
कम्युनिस्टहरुलाई छलफलका लागि आह्वान गर्दै भुसालले यो महिना र आगामी निर्वाचनसम्म अझ ठुला दुर्घटना हुनसक्ने बताएका छन् ।
उनले लेखेका छन्- 'नेताका सत्तास्वार्थले कब्जा गरेको हाम्रो वामपन्थी आन्दोलन सङ्कटग्रस्त छँदैछ । भदौ २३ गतेको जेन् जी आन्दोलन र २४ गतेको विध्वंशमार्फत समाजले दिएको धेरै शक्तिशाली सन्देश नसुनेझैँ गरेर सबै नेताहरुले बालुवामा टाउको घुसारेका छन् । यो महिना र आगामी निर्वाचनसम्म अझ ठूला दुर्घटना हुनेछन् । कमरेड ओलीले नेकपा एमालेको जहाजलाई भयानक दुर्घटनातिर लैजाँदै छन् ।'
भुसालले आत्मप्रशंसा, असहिष्णुता, उद्दण्डता, पपुलिज्म, मूल्यहीनताका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई भयानक दुर्घटनामा लैजाने समेत बताएका छन् ।
उनले थप लेखेका छन्- 'कमरेड ओलीले आफ्नो जीवनमा अब गर्न बाँकी रहेको एउटा मुख्य काम नेकपा एमालेलाई कहिल्यै उठ्न नसक्ने बनाउनु हो । सम्भवतः आगामी महाधिवेशनमा त्यो कर्म सम्पन्न गर्नेछन् । कमरेड ओलीलाई त्यसमा ग्लानी हुने छैन बरु आफ्नो ‘सामथ्र्य’मा अभिमान नै हुनेछ । त्यसबाट हुने क्षति मुलुकले पनि ब्यहोर्नै पर्नेछ ।'
''