काठमाडौं । भदौ २४ गते भएको जेनजीहरुको प्रदर्शनका क्रममा नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको घर जलेपछि अहिले ओली निवास नयाँ बनाउने तयारी भएको छ ।
नेकपा एमालेका युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले नै ओलीले बनाउन लागेको घरको नक्सा सार्वजनिक गर्दै चन्दा नउठाई ओली निवास निर्माण गर्न लागेको बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता बस्नेतले गुण्डुबासीहरूको साझा भावना र सम्मानका प्रतीकका रूपमा ओली निवास निर्माण गर्न लागिएको बताएका हुन् ।
ओली निवास निर्माणमा चन्दा नउठाउने प्रष्ट पार्दै उनले भनेका छन्–‘यो हाम्रो आत्मीयता, स्नेह र गौरवको प्रतीक हो। चन्दा उठाउने कुनै योजना छैन। कसैसँग पनि चन्दा उठाइँदैन ।’
नेता बस्नेतले फेसबुकमा लेखेका छन्–‘गुण्डुबासीकै हातबाट, गुण्डुबासीकै मनबाट। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूको निमित्त बन्ने ओली निवास हाम्रो आफ्नै गाउँको पहल हो। कतिपय साथीहरुले भावनात्मक हिसाबले चन्दा दिन्छु भन्नुभएको छ। कतिपय मिडियाले चन्दा उठाउँदैछन् भनेर लेखेको रहेछ । चन्दा उठाउने कुनै योजना छैन। कसैसँग पनि चन्दा उठाइँदैन । यो हाम्रो आत्मीयता, स्नेह र गौरवको प्रतीक हो। साथ, स्नेह र शुभेच्छाका लागि सबैलाई हार्दिक धन्यवाद ।’
भदौ २३ गते भएको जेनजी आन्दोलनमा सरकारी पक्षबाट गोली चल्दा १९ जना युवाहरुको ज्यान गएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरुले २४ गतेको आन्दोलनमा सिंहदरबार, संसद भवनदेखि अधिकांश प्रहरी कार्यालय र राजनीतिक दलका नेताहरुको घरमा आगजनी गरेका थिए ।